Birgunj News24
मकवानपुरको मनहरीमा बाघपछि हात्तीक

शुक्रबार, मंसिर २९ चितवन राष्ट्रिय निकुञ्जको बाघले मकवानपुरको मनहरीमा दुई जनाको ज्यान लिएको पीडादायी घटना ताजै छ । त्यो सेलाउन नपाउँदै फेरी हात्तीको आतंक सुरु भएको छ । विगत दुई सातादेखि मनहरी गाउँपालिका वडा नं.६,७,८ र ९ क्षेत्रमा निकुञ्जबाट आएको यमगज नामक जंगली हात्तीले वितण्डा मच्चाईरहेको स्थानीयहरुले बताएका छन् ।

उक्त हात्तीले स्थानीयको बासस्थान(घर) घत्काउने र खेतबारीमा लगाएका अन्तपात तथा घरमै भण्डारण गरि राखेको धानमकै क्षति पुर्याएको छ । हात्तीको आक्रमणबाट ज्यान जाने डरले रातको समयमा ढुक्क भएर सुत्न समेत पाएका छैन ।

गएको सोमबार मनहरी गाउँपालिका–८ चिसापानीमा राती १० बजे १५ मिनेटमा स्थानीय जमुना कुमारी अधिकारीको घरमा हात्तीले आक्रमण गरेको थियो । काठको बार, टिनले छाएको दुईकोठे घरमा क्षति पुगेको छ । त्यति बेला हात्तीलाई स्थानीयको सहयोगमा प्रहरीले जंगलतर्फ लखेटे।

तर त्यसको भोली पल्टै राती मनहरीकै वडा नं.७ रमौलीमा स्थानीय चेपाङ सिंह तामाङको घरमा हात्तीले तामाङको भान्सा र घर भत्काएर घरमा रहेको ४ बोरा धान पनि खाईदियो । हात्तीको आक्रमणबाट ज्यान जोगाउन भाग्ने क्रममा चेपाङ सिंहका श्रीमती र छोरा सामान्य घाइते हुन पुगेका छन् ।

‘हात्तीले पहिला भान्सा भत्कायो, त्यसपछि घर, चोटामा राखेको चार बोरा धान खेतमा लगेर खाईदियो,’ तामाङले थपे, ‘त्यो धान सकेपछि फेरी घरमा आयो, ज्यान जोगाउन भाग्दा छोराको हात र श्रीमतीको खुट्टामा चोट बोक्न पुगे ।’

निकुञ्जबाट मानव बस्तीमा आहाराका लागि पसेका हात्तीले खेतबारीमा अन्नपात नभेटेपछि घरमा आक्रमण गरेको अनुमान छ । चितवन राष्ट्रिय निकुञ्ज र जनप्रतिनिधिसहितको टोली क्षतिको बिवरण संकलन गरिसकेको बताईएको छ । गत बर्ष हात्तीकै आक्रमणमा परी मकवानपुरमा दुई जनाको ज्यान गएको थियो ।

सांसद बर्तौलाको निरीक्षण

सोही क्षेत्रका सांसद महेश कुमार बर्तौलाले हात्ती आंतकबाट पीडितको क्षतिग्रस्त घरको निरीक्षण गरेका छन् भने पीडित परिवारसंग पनि भेटेका छन् । पीडित परिवारसंगको कुराकानीपछि सांसद बर्तौलाले पीडितहरुलाई क्षतिपुर्ति दिलाउन निकुञ्जसंग पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । निकुञ्जले हात्तीलाई नियन्त्रणमा लिएर लैजाने गरी प्रक्रिया अगाडी बढाएको जानकारी दिएको समेत सुनाए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update