Birgunj News24

काठमाडौं, १६ पुस । संसदीय समितिले बालकुमारी घटनाका मृतकका परिवारका सदस्यलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले बालकुमारी घटनामा मारिएका दुईजनाको परिवारलाई थप राहत दिन र उनीहरुको परिवारलाई रोजगारी दिन निर्देशन दिएको छ । 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अंगका प्रमुखसँगको छलफलपछि समितिले उक्त निर्देशन दिएको हो । गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । 

सोही विषयमा छलफल गर्न बसेको समिति बैठकका निर्णयहरु

१. पुस १३ गते शुक्रबार भएको इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप राहत दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

२. दुवै मृतकका परिवारलाई रोजगारीको अवसर दिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने ।

३. घटनासँग सम्बन्धित साना दर्जाको प्रहरी तथा कर्मचारीलाई मात्र निलम्बन र सरुवा गरी समस्याको समाधान नगर्न र काम गर्नेको मनोवल नगिर्ने गरी न्यायोचित समाधान गर्न नेपाल सरकार,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

४. उक्त घटना घट्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयको भूमिकाबारे पनि छानविन गर्न निर्देशन दिने ।

५. यस प्रकारको घट्ना अब आईन्दा नहोस् भनी सम्बन्धित सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।

६. सुरक्षा निकायलाई आवश्यक स्रोत साधन पर्याप्त उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update