वीरगंज, माघ ३
वीरगञ्जस्थित सूर्य अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले माघ १ गते माघे सङ्क्रान्तिका दिन तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । विगत १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका – ७ की ३५ वर्षीय महिलाले डा. मोनिकाले गरेको आइभीएफ उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए । तिम्ल्याहामध्ये दुई छोरी र एक छोरा रहेको डा. सरोजले बताए । तिनै शिशु स्वस्थ रहे पनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको डा. सरोजले बताए । ‘एउटा शिशु अढाई किलो र अर्का दुई जना डेढ–डेढ किलोका छन् । उनीहरूलाई हामीले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेका छौँ,’ डा. सरोजले भने, ‘आमाको स्वास्थ्य पनि राम्रो छ । शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।