वीरगंज,माघ ४
पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेका छन् । पुष २३ गतेदेखि बाराको सिमरामा रहेका पूर्वराजा शाह बुधबार परिवारसहित निकुञ्ज क्षेत्रमा पुगेका हुन् ।
पूर्वराजा शाहसंगै पूर्वरानी कोमल शाहसहित परिवारका अन्य सदस्य थिए । पूर्वराजपरिवारले जंगल सफारीका लागि प्रयोग हुने गाडी चढेर निकुञ्ज क्षेत्रको अवलोकन गरेका थिए ।
भैरहवाबाट पुष २३ गते सिमरा आएका पूर्वराजा सिमरास्थित प्रभु निवासमा बसिरहेका छन् । उनले पुष २८ गते सर्लाहीको मुक्तेश्वर मन्दिर, माघ २ गते रौतहटको शिवमन्दिरको दर्शन गरेका थिए । उनि बिहीबार बरियारपुरस्थित गढीमाई मन्दिर दर्शन गर्न जादैछन् भने माघ ७ गते हेटौंडाको भूटनदेवी मन्दिर पुग्नेछन् ।
पूर्वराजा शाहलाई माघ १३ गते वीरगन्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सिमरा मुकाम बनाएर तराईका विभिन्न जिल्ला भ्रमण गरिरहेका पूर्वराजा शाह बुधबार बाराको पर्यटकिय स्थलको रुपमा रहेको निकुञ्ज क्षेत्र पुगेका हुन् ।