Birgunj News24
विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

वीरगञ्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ।

 

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षाबेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुनेगरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताए।

त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ। विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताए।

बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम सुरु गरेको छ। सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धी डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खड्काले बताए।

उनले भने, ‘बदलिँदो सुरक्षा चुनौतिको आँकलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ। त्यसै गरेर सोसियल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि यही गत हप्ताबाट मात्रै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एउटा सुरक्षा बेस ३० जनाको टोली रहने गरी त्यो स्थापना गरिएको छ। एयरपोर्टमा समेत सशस्त्र प्रहरी बल परिचालन गरिएको अवस्था हो।’

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्टकृत जनशक्ति तयार पार्नका लागि काठमाडौंको मातातीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ।

सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्थासमेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताए। त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रुपमा प्लाष्टिकका सामग्रीहरुको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update