पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ मा ज्येष्ठ नागरिकका लागि सामुदायिक भवन निर्माण गर्न थालिएको छ ।मधेस प्रदेश सरकारले दिएको २५ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न थालिएको हो।
सोमबार पूर्वमन्त्री तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालले रैनीझैनी मन्दिर नजिकै निर्माण गर्न लागिएको उक्त भवनको शिलान्यास गरेका हुन् ।घरपरिवारबाट अपहेलित बृद्धबृद्धाहरुको लागि दुई वटा कोठा र शौचालयसहितको सामुदायिक भवन निर्माण गर्न लागिएको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।बजेट अपुग भएमा गाँउपालिकाले त्यसको व्यवस्थापन गर्ने उनले बताए ।
यस्तै सोमबार नै पूर्वमन्त्री रिजालले वडा नम्बर २ मै ग्राभेल सडककोपनि शिलान्यास गरेका छन् ।गण्डक नहरदेखि मठ सम्म करिब पाँच सय मिटर ग्राभेल सडक २० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो ।उक्त बजेटपनि प्रदेश सरकारले नै उपलब्ध गराएको हो।
शिलान्यास कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्षहरु सुभाष यादव र लक्ष्मी साह,कांग्रेस नेता सुरेन्द्र क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।