नेशनल मेडिकल कलेजका कर्मचारीहरु आज जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रर्दशन गरेका छन । सोमबार पक्राउ परेका नेशनल मेडिकल कलेजका एमडि शहनवाज हुसेन अंसारी र ल्याब प्रमुख संजय साहको रिहाईको माँग गर्दै कर्मचारीहरु प्रर्दशन गरेकाहुन । सो अवसरमा कर्मचारीहरुले हाम्रो एमडी र डाक्टरलाई रिहा गर,पर्सा प्रहरी मुर्दावाद, हामीले हाम्रो पर्व मान्न पाउनुपर्छ लगायतको नारा लगाउदै प्रर्दशन गरेका थिए। अनुगमनको नाममा प्रहरीले एमडी अंसारी र ल्याब प्रमुख साह माथि
अन्याय र अत्याचार भएको प्रर्दशनकारीको कथन थियो। बिरोध प्रर्दशनमा सफाईकर्मी देखि डाक्टर सम्मको सहभागिता थियो । आन्दोलनरत कर्मचारी र डाक्टरहरुलाई प्रहरीले मुख्य सडकमै रोकेपछि उनीहरुले केहिबेर सडकजाम गरेर प्रर्दशन गरेका थिए ।
एमडी अंसारी थप दुई दिन थुनामा बस्ने
नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई २ दिन हिरासतमा राख्ने जिल्ला अदालत पर्साले अनुमति दिएको छ मेडिकल कलेजबाट सोमबार पक्राउ परेका अंसारी र साह उपर जिल्ला अदालत पर्साले अनुसन्धान गर्न मंगलबार थप २ दिनको म्याद दिएको हो ।
अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।
थुनामा राखेर अनुसन्धान गर्न पर्सा प्रहरीले ७ दिनको म्याद मागेको थियो । तर जिल्ला अदालत पर्साले भने पहिलोपटक २ दिनको म्याद थप गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको हो । उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।