Birgunj News24
वीरगञ्जस्थित ऐतिहासिक मन्दिर गहवा माईको निशान सहितको प्रथम डोली यात्रा वैशाख ४ गते गर्ने हुने भएको छ ।

वीरगञ्जस्थित ऐतिहासिक मन्दिर गहवा माईको निशान सहितको प्रथम डोली यात्रा वैशाख ४ गते गर्ने हुने भएको छ । डोली यात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

डोली यात्राको आयोजक तथा माईस्थान सञ्चालक समितिका अनुसार देश विदेशमा समेत प्रसिद्ध रहेको ऐतिहासिक गहवा माईको निशान सहितको प्रथम डोली यात्रा वैशाख ४ गते मङ्गलवारका दिन दिउँसो ४ बजे प्रारम्भ हुनेछ ।

डोली यात्रा सुरु हुनु अघि दिउँसो २ बजेदेखि दुई घण्टा डोलाको पूजाआजा गरिने तयारी समेत गरिएको छ । पूजाआजा पश्चात् ४ बजे दिउँसोदेखि यात्रा सुरु गरी ६ बजेभित्र पुनः मन्दिर पुगी समापन गर्ने कार्यक्रम रहेको छ ।


सञ्चालक समितिका अध्यक्ष नरेन्द्रकुमार शाहले डोली यात्रा मन्दिरबाट शुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवा माई मन्दिर प्राङ्गणमा पुनः फिर्ता आउने जानकारी दिए ।


शाहले देश विदेशमा रहेका सम्पूर्ण भक्तजनलाई दिन बढी भन्दा बढी मात्रामा डोली यात्रामा सहभागी भएर यात्रा सफल पार्न समितिका सह–कोषाध्यक्ष डा. प्रमोद सर्राफले गरेका छन् । डा. सर्राफले नै डोली निर्माणको सम्पूर्ण खर्च व्यहोर्ने स्वीकार गरेका छन् । डोली यात्राको सम्पूर्ण खर्च करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै डोली यात्राका दिन गहवा माईको निशान लिने व्यक्तिले ५ सय ५ रुपैयाँ शुल्क तिरेर निशान लिन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै समितिले डोली यात्राका लागि चन्दा नउठाउने निर्णय समेत गरेको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले सोझै माईस्थान सञ्चालक समितिको कार्यालयमा आई सहयोग गर्ने सक्ने अध्यक्ष शाहले बताए ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update