वीरगञ्ज । मधेस प्रदेशमा गृहमन्त्री, राज्यमन्त्री र सचिवले बुझेका सुराकी भत्ता फिर्ता गर्न थालेका छन् । पूर्व गृह, सूचना तथा कानुन मन्त्री समिम मियाँ अन्सारीले सुराकी बापत बुझेको रकम मन्त्रालयको खातामा फिर्ता गरेका छन् ।
पूर्व मन्त्री अन्सारीले राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको सुराकी खातामा मङ्गलवार रकम फिर्ता गरेका छन् ।
मन्त्रालयबाट उनको निजी खातामा सुराकी बापतको रकम ८ लाख ७७ हजार ५ सय रुपैयाँ पठाइएको थियो । मन्त्री पदबाट मुक्त हुनुभन्दा तीन अगाडि मात्र उनको खातामा रकम गएको बताइएको छ । ‘म पदबाट मुक्त भए पछि मात्रै मेरो खातामा मन्त्रालयबाट रकम पठाइएको हो’ पूर्व मन्त्री अन्सारीले भने, त्यो रकम मन्त्रालयलाई मैले फिर्ता गरेको छु ।
मधेस प्रदेश बाहेकका प्रदेशमा सुराकी बापतको रकम कुनै मन्त्रीले लिएका छैनन् । तर मधेस प्रदेशमा सुराकीको नाममा झन्डै पौने २ करोड रुपैयाँ मन्त्री, राज्यमन्त्री र सचिवले बुझेका छन् । आफ्नो प्रहरी समेत नभएको अवस्थामा मन्त्री र सचिवहरूले नै पौने २ करोड रुपैयाँ बुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।