Birgunj News24
चैती छठको मुख्यदिन आज अस्ताउदो सुर्यलाई अर्घ दिई मनाईदै

अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी आज साँझ पर्सासहित मधेसमा चैते छठ मनाइँदै छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाहीलगायत मधेसभरि धूमधामका साथ मनाइँदै छ ।   

छठ पर्व पर्साको सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा नहरको किनारमा अर्घ्य दिनका लागि भक्तजनको तयारी भइरहेको छ । सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको मधेस संस्कृतिका जानकारीहरू बताउँछन् ।  
सूर्यको उपासना गरिने पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । यस अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । 
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शुक्रवार व्रतालुहरूले ‘नहाय(खाय’ अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन शनिवार खरना मनाइएको थियो ।

खरनाको दिन व्रतालुहरूले दिनभरि उपवास निराहार बसेर राति छठी मातालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ९विना नुन हालेको० खानेकुरा खाएका थिए । 

त्यस्तै तेस्रो दिन आज साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, पुडुकीया, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन आज व्रतीले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् । 

अन्तिम दिन भोलि अर्थात् शुक्रवार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रोपतीसहित पाण्डव अज्ञात वासमा रहँदा उक्त गुप्त वास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मधेसको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराण अनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेको बताइन्छ । फलस्वरुप अनुसुइयाले अटल सौभाग्य तथा परि प्रेम प्राप्त गरेको र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठ पर्व हिन्दूसँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्‍याउनुपर्छ तर चढाउने सामर्थ्य नभएकाले गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update