Birgunj News24
उदाउँदो सूर्यलाई अर्घ दिदै सम्पन्न भयो चैती छठ

पर्साको वीरगञ्जलगायत सम्पूर्ण मधेसमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैते छठ सम्पन्न भएको छ । 

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङलगायत मधेसभरिमा रहेका नदी, खोला, पोखरीलगायतका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ सम्पन्न भएको छ ।

चैते छठ पर्व पर्साको वीरगञ्ज, पोखरिया, विन्दवासिनी, बहुदरमाई, पर्सागढी, छिपहरमाई, जगरनाथपुरलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी सिर्सिया, तिलावे, सिंगाहा, घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ सम्पन्न भएको छ ।

सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शुक्रवार बर्तालुले “नहाय(खाय” अर्थात् नुहाएर खाएर जीउ चोख्याउने काम गरेका थिए ।

पर्वको दोस्रो दिन शनिवार खरना मनाएका थिए । खरनाका दिन बर्तालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताक पूजा गरेका थिए र राति अरवा अरबाइन ९बिना नुन हालेको० खानेकुरा खाएका थिए । षष्ठीका दिन अर्थात् आइतबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, पुडुकीया, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए । 
षष्ठीका दिन आइतबार साँझ बर्तालुले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर अन्य अर्घ्य सामग्री पालो पालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । 

आज बिहान पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझमा गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ सम्पन्न गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update