Birgunj News24
गहवा माईको निशान सहितको डोलीलाई सफल पार्न मोटरसाईकल  र्‍याली

वीरगञ्जस्थित गहवामाई मन्दिरको प्रथम निशान सहितको डोली यात्रा पूर्व आज वीरगञ्जमा मोटरसाइकल र्‍याली निकालिएको छ ।

चैत्र नवरात्रको अष्टमी तिथिको अवसरमा आज मङ्गलवारका दिन निकालिन लागिएको गहवा माईको निशान सहितको डोलीलाई सफल पार्नका निमित्त बिहान र्‍याली निकालिएको आयोजकहरूले जनाएका छन् । मन्दिर अगाडिमा निकालिएको र्‍यालीले नगर परिक्रमा गरेको थियो ।

डोली यात्रा आज अपराह्न ४ बजे नगर परिक्रमा गराइने तयारी भएको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले जानकारी दिए ।
शाहका अनुसार डोली यात्रा सुरु हुनु अघि दिउँसो २ बजेदेखि २ घण्टा डोलाको पूजाआजा गरी ४ बजेदेखि यात्रा सुरु गरी ६ बजे भित्र मन्दिर परिसरमा पुगी समापन गर्ने कार्यक्रम रहेको छ । सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरूलाई रातो रङ्गको पहिरनमा डोला यात्रामा सहभागी हुनका लागि अध्यक्ष शाहले अपिल गरेका छन् ।
डोली यात्रा मन्दिरबाट शुभारम्भ भएर २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्ता माई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने समितिका महासचिव विजय कुमार उपाध्यायले बताए । चन्दा सङ्कलन नगरी इच्छुक दाता र भक्तजनको सहयोगमा पहिलो निशान सहितको डोली यात्रा आयोजना गर्न लागिएको उपाध्यायको भनाई छ ।

वीरगञ्जको इतिहासमा पहिलो पटक निकाल्न लागिएको डोली यात्रामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । डोलीको निर्माणमा लागेको खर्च समितिका सह–कोषाध्यक्ष डाक्टर प्रमोद कुमार सर्राफले सहयोग गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update