जिल्ला प्रहरी कार्यालय पर्साले एक गोदाममा गरेको छापामारीबाट एक करोड भन्दाबढी कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको पत्रकार सम्मेलनमा एक करोड २० लाख बराबरको कपडा बरामद भएकोे पर्सा प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले बताए ।
वीरगञ्जको महाविरस्थान नजिकै पम्पम बिलडिङ्मा तस्करीका कपडा भण्डार गरिएको गोदाममा बिहिवार दिउसो प्रहरीले छापामारी गरि भन्सार छलीका ठूलो परिमाणमा कपडा बरामद गरेको थियो । भारतबाट भन्सार छली ल्याइ भण्डारण गरेको बिशेस सुचनाको अधारमा गोदाममा छापामारी गरिएको हो । पम्पम बिलडिङको ४ वाटा कोठामा भन्सार छलीका विभिन्न ब्राण्डका पाइन्ट ,सर्ट तथा सर्टिङ सुटिङको एक करोड २० लाख बराबरको भाण्डार गरेकोे कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज वडा नम्बर ६ बस्ने राम एकवाल कुशवाहाको गोदामबाट एक वानटन र वडा नम्बर १६ बस्ने आकाश कुमार गुप्ताको गोदामबाट २ वानटन कपडा बरामद भएको हो । विभिन्न कपडा व्यापारीहरुले तस्करी गरी मगाउने कपडा उक्त गोदाममा भण्डारण गरेकोले सुचनाको आधारमा छापामारी गरिएकोे पर्सा प्रहरीले जनाएको छ ।
बरामद कपडा कुशवाहाको गोदामबाट ४० लाख बराबर र गुप्ताको गोदामबाट ८० लाख बराबरको भन्सार छलीका कपडा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।