भारतीय जनता पाटीकोे निमन्त्रणामा नेपालका चार दलका नेता भारत जाने
भारतीय जनता पार्टी बीजेपी.को निमन्त्रणामा नेपालका चार राजनीतिक दलका नेताहरु भारत जाने भएका छन्।
स्रोतका अनुसार नेकपा एमालेबाट उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल भारत जाँदै छन्।
नेपाली कांग्रेसबाट को जाने टुंगो लागिसकेको छैन। ‘नो बीजेपी’ अर्थात् भाजपाले पार्टीबारे जानकारी दिन बनाएको अभियानले नेपालका चार दललाई निमन्त्रणा गरेको हो।
भ्रमणको निम्तो पाएका मातृका यादवले भारतबाट निमन्त्रणा आएको पुष्टि गरे।
उनले भने, ‘मे १ बाट बोलाएको मैले थाहा पाएको छु। बीचमा उताबाट सम्पर्क आउला।’
भारतमा भइरहेको चुनावको सन्दर्भमा आफ्नो दलको निवाचन अभियान, तयारीबारे जानकारी दिन सम्पर्कमा भएका दलहरुलाई निमन्त्रणा गरेको बताइएको छ।
मे १ बाट उनीहरु भारत जानेछन् भने मे ५ मा नेपाल फर्किने कार्यक्रम छ।
नेपालबाट गएको टोलीलाई नो बीजेपीले छत्तीसगढको कुनै निर्वाचन क्षेत्रमा लैजाने बताइएको छ। भारतमा हाल निर्वाचन सुरु भएको छ।