वीरगन्ज–१० आदर्शनगरमा रहेको एक ट्रान्सपोर्टमा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीको टोलीले छापा मारेर करिब ७० लाख रुपैयाँ मुल्य बराबरको दुई ट्रक मालसामान नियन्त्रणमा लिएको छ ।
भन्सारमा खटिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल नेतृत्वको टोलीले शनिबार बिहान आदर्शनगरमा रहेको श्रीदुर्गा रोड क्यारियर (ट्रान्सपोर्ट)मा छापा मारेर राजश्व छलीको आशंकामा कपडा, काजु, स्टिलका भाँँडावर्तन, ग्याँस चुल्हा लगायतको सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले छापा मारेर सामान बरामद गरेको ट्रान्सपोर्टका सञ्चालक मदन प्रसाद कलवार हुन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बरामद गरिएका ती मालसामान राजश्व छली (तस्करी)को आशंकामा बरानमद गरि वीरगन्ज भन्सार कार्यालयमा ल्याइएको बताए ।
रिजालका अनुसार, शनिबार बिहान भारतबाट चार पोका कपडा बोकेर वीरगन्ज भित्रिएको एक अटो गाडीलाई सशस्त्र प्रहरी नायब उपरीक्षक रिजाल नेतृत्वको टोलीले वीरगन्ज–२ छपकैयास्थित इदगाह चोकबाट पछ्याएको थियो । उक्त अटो आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियरमा पुगेर त्यसमा रहेको पोकाहरु उक्त क्यारियरको गोदामभित्र लगेर राख्ने क्रममा सशस्त्र प्रहरीको टोलीले छापा मारेको थियो । त्यसक्रममा दुई वटा गोदामभित्र भण्डारण गरि राखिएका करिब ७० लाख रुपैयाँको मालसामान बरामद गरि आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सारमा ल्याइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले बताए ।
रिजालले भने,‘ तस्करीको सामान भेटिएपछि हामीले भन्सारका कर्मचारीलाई बोलायौं । त्यसपछि आवश्यक प्रकृया पुरा गरेर दुवै गोदामभित्र रहेका सामानहरु नियन्त्रणमा लियौं ।’
यता उक्त ट्रान्सपोर्टका सञ्चालक कलवारले भने सशस्त्र प्रहरीले बरामद गरेर लगेका सामानहरु राजश्व छलीको नभएको दाबी गरेका छन् । सबै सामानको भन्सार प्रज्ञापनपत्र र भ्याट बील रहेको भन्दै कलवारले भने,‘ सबै कागजात देखाउँदापनि सशस्त्र प्रहरीले गोदामको ताल्चा फुटाएर सामान लिएर गयो ।’
यता वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले भने सशस्त्र प्रहरीले नेपालको कानून मिचेर गोदामको ताल्चा फोडेर सामानहरु नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘ यदि कुनैपनि व्यवसायिक प्रतिष्ठान वा गोदाममा सरकारी निकायले छापा मार्छ र ताल्चा फुटाउनु पर्ने अवस्था आयो भने वडाअध्यक्षको रोहबरमा मुचुल्का उठाएरमात्रै ताल्चा तोड्नुपर्ने नियम कानुनमा छ । तर सशस्त्र प्रहरीले आँफुलाई कुनै खबर नै नगरी गोदामको ताल्चा फुटाएर सामानहरु लगेको छ । यो कानूनको उल्लंघन हो ।म त्यहाँ पुग्दा गोदाम खाली गरेर सामान सशस्त्र प्रहरीले लगि सकेको रहेछ । सामान लगेपछि मात्रै मलाई सशस्त्र प्रहरीले फोन गरेको थियो ।’
तर सशस्त्र प्रहरी नायब उपरक्षिक रिजालले भने वडाध्यक्ष कानुलाई खबर गरेको तर उनि ढिला गरि घटनास्थलमा आएको बताए । रिजालले भने,‘ कहिलेकाँही क्वीक एक्सन लिदाँ सबै प्रकृया पुरा गर्न भ्याइदैन । तैपनि हामीले गोदाममा खानतलासी लिनुपूर्व प्रकृया अनुसार एउटा सूचना टाँस गरेका थियौं । त्यसपछि मात्रै गोदाममा खानतलासी गरेका थियौं । अर्को कूरा गोदाम खुल्लै थियो । ताल्चा लगाइएको थिएन ।’
सशस्त्र प्रहरीले पछ्याँउदै आएको अटोमा लोड रहेको सामान ट्रान्सपोर्टको गोदाममा लगेर राख्दै गरेको भेटिएपछि मात्रै गोदाममा छापा मारेर खानतलासी गरिएको उनले बताए ।यसअघि एक महिना पहिलेपनि नेपाल प्रहरीले त्यहि ट्रान्सपोर्टमा छापा मारेर करिब १५ लाख मूल्यको १६ पोका कपडा बरामद गरेको थियो ।