गर्मीका कारण पर्सा सहितको मधेशको जनजिवन कष्टकर, तातो हावाबाट बच्न आग्रह
पर्सा सहित मधेशको जिल्लाहरुमा गर्मीका कारण जनजिवन कष्टकर बनेको छ । अत्याधिक गर्मी संगै तातो हावाको कारण जनजिवन कष्टकर बनेको हो । मधेशको भूभागमा आज आइतबारदेखि बैशाख २० गतेसम्म तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मधेस,लुम्बिनीसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।
पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिबार ३८ डिग्रीभन्दा तल अधिकतम् मापन गरिएका मधेसका पर्सा, सिरहा, सप्तरीलगायत जिल्लामा आज तापक्रम अझ बढ्न सक्ने देखिएको बताए ।