नेकपा एमालेको पर्सा जिल्ला अध्यक्षमा डाक्टर विश्वम्भर शर्मा सर्वसम्मत चयन भएका छन् ।वीरगन्जमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा शर्मा सर्वसम्मत चयन भएका हुन् ।शर्मा , यसअघि जिल्ला संयोजक थिए । अध्यक्षमा संविधानसभा सदस्य जयप्रकाश थारुलेपनि दाबी गर्दै आएको भएपनि नेताहरुको प्रयासमा उनले आफनो दाबी फिर्ता लिएपछि अध्यक्षमा शर्मा सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्षमा शर्मा सर्वसम्मत चयनभएपनि उपाध्यक्षसहित चार पदाधिकारीको पदमा भने निर्वाचन नै हुने भएको छ । एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका शुक्रबार बिहान मतदान हुने प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले जानकारी दिए ।
उपाध्यक्ष पदमा मनोज गुप्ता र लालबाबु शेख ,सचिव पदमा महेस दास र नवराज शर्मा ,उपसचिव खुल्ला० मा रामिकिशोर सिंह पराग ,नविजान मियाँ अन्सारी र इमरान हुसेन तथा उपसचिव महिला० मा सीतादेवी लामा र गीता देवी भण्डारीको उम्मेदवारी परेको छ । यस्तै जिल्लाका १४ वटा पालिकामध्ये वीरगन्ज महानगरपालिकासहित केहि पालिकाको सदस्य पदकालागि पनि शुक्रबार मतदान हुने ढकालले जानकारी दिए ।
यस्तै लेखा समितिको उपाध्यक्षमा गोविन्द प्रताप श्रेष्ठपनि सर्वसम्मत चयन भएका छन् ।लेखा समितिको अध्यक्षमा भने सन्तोष कुमार सिंह र शीवजी गुप्ताको उम्मेदवारी परेकाले उक्त पदका लागिपनि चुनाव हुने भएको छ ।
एमालेको नवौं जिल्ला अधिवेशन गत सोमबारदेखि सुरु भएको थियो । सोमबार उद्घाटन समारोह सम्पन्न भएको अधिवेशनको बन्दसत्र मंगलबार सकिएपछि लगत्तै त्यहिदिन देखि नयाँ कार्य समिति चयनका लागि निर्वाचन प्रकृया सुरु भएको थियो । सर्वसम्मति मै जिल्ला कार्य समिति चयनका लागि नेताहरुले निरन्तर प्रयासद गर्दै आएकोमा बिहीबार अध्यक्ष पदमा मात्र सर्वसम्मत हुन सकेको हो ।
उपाध्यक्षसहित बाँकी चार पद र केहि सदस्य पदमा एक भन्दा बढीको दाबेदारी कायमै रहेपछि ती पदमा सर्वसम्मत हुन नसकेकोले शुक्रबार मतदान हुन लागेको ढकालले बताए । शुक्रबार हुने मतदानमा ५ सय ८४ जना मतदाता सहभागी हुने ढकालले जानकारी दिए । श्रोत : अन्नपुर्ण पोष्ट