जिल्ला प्रहरी कार्यालय पर्साले ९० लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले चलाएको जाँच अभियानका क्रममा जिल्लाका फरकफरक स्थानहरुबाट ९० लाख ३७ हजार ९१५ मूल्य बराबरका सामानसहित ट्रक पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए ।
थापाका अनुसार जिल्ला प्रहरी कार्यालयबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगञ्ज–८ घण्टाघरबाट ८७ लाख ५० हजार ४१५ रुपैँयाका खुद्रा सामान तथा औषधीसहित ना।६ ख ३८६१ नम्बरको ट्रक पक्राउ गरेको हो । ट्रकसहित सामानलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थापाले बताउनु भयो ।
यसैगरी वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट खाद्यन्न तथा कपडाहरु नियन्त्रणमा लिएको प्रहरीले जनायो । २ लाख ८७ हजार ५ सय मूल्यका सामानहरु आवश्यक कारवाहीका वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी बताउँछ ।