सांसद यादवले गरे केएफसीको उद्घाटन
वीरगन्जमा सञ्चालनमा आएको मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुराँको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो ।
आदर्शनगरस्थित स्काई मलमा सञ्चालनमा आएको केएफसी रेष्टुराँको शुक्रबार जनता समाजवादी पार्टी ९जसपा०का उपमहासचिव तथा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले औपचारिक उद्घाटन गरेका हुन् । फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्रालिले आदर्शनगरको स्काई मलमा केएफसी रेष्टुराँसंगै पिज्जा हट र चर्चित ब्रान्ड “क्रिम बेल” पनि सञ्चालनमा ल्याएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले आर्थिक नगरी वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको फुड चेनहरूको खुल्नु आफैमा ठूलो कुरा भएको बताए । वीरगन्जले महानगरको हैसियत पाएको लामो समय भएपनि अहिले भर्खर आएर नगरवासीले विश्व स्तरीय सेवाहरू पाउन थालेको जिकिर गर्दै उनले भने, ‘महानगर त घोषणा भयो तर यहाँ पूर्वाधारहरू थिएनन् । अहिले बल्ल आएर स्काइलाइन मल जस्ता पूर्वाधारहरू विकास हुँदै गएपछि यहाँका स्थानीयहरूले आफू महानगरवासी भएको अनुभूति गरिरहेका छन् ।’यादवले केएफसी, पिज्जा हट र क्रिम बेल जस्ता विश्व प्रख्यात ब्रान्डहरूलाई वीरगन्जमा ल्याएर यहाँका जनतालाई पनि विश्व स्तरीय सेवा र सुविधा उपलब्ध गराएकोमा मलका सञ्चालकहरू प्रति आभार प्रकट गरे ।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले वैभव वीरगन्जको आफ्नो अभियानलाई सफल पार्न स्काइलाइन मलले ठूलो भूमिका खेलेको बताए । वीरगन्जवासीलाई पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय र विश्वसनीय सेवाहरू उपलब्ध गराएर मलका सञ्चालकहरूले नगरको विकासमा पनि सहयोग गरिरहेको उनले जिकिर गरे । मलले यहाँका जनतालाई एकै ठाउँमा किनमेल, खानपानदेखि मनोरञ्जनसमेतको व्यवस्था मिलाइदिएकोमा उनले आभार पनि प्रकट गरे ।
केएफसीकी सेल्स एण्ड मार्केटिङ म्यानेजर निती बस्नेतका अनुसार वीरगन्जमा सञ्चालनमा ल्याइएको केफएसी नेपालको १८ औं र पिज्जा हट छैठौ शाखा हो । केफसी रेष्टुराँमा हट एण्ड क्रिस्पि चिकेन, चिकेन पपकर्न , चिकेन स्ट्रिप्स, चिकेन रोल। जिंगर बर्गर लगायतका परिकार उपलब्ध छन् भने पिज्जा हटमा विभिन्न प्रकारका टपिङ,पास्तार पिज्जा उपलब्ध छन् ।वीरगन्जको केएफसी रेस्टुराँ र पिज्जा हट बिहान १० बजेदेखि राति १० बजेसम्म खुल्ला रहने बस्नेतले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल,वरिष्ठ उद्योगपति राजेश अग्रवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार साह कानु, प्रहरी निरीक्षक पुष्कर बोगटीलगायतको पनि उपस्थिती थियो ।