सहकारीका कर्मचारीबाट ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
जनकपुरमा पेस्तोल देखाएर सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाकै मिथिला नगरपालिकाका जनक महतो र श्रवण कापर रहेका छन् ।
महतो र कापरको साथबाट केही रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट हाल १४ लाख ५३ हजार मात्र बरामद भएको हो ।
गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका थिए ।
पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१ १०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय