आइतबार विहान ७ बजे वीरगंजको बहुअरीमा रहेको शारदा मा।वि।मा पुग्दा यहाँका मेयर राजेशमान सिंह कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको भेटिए । महानगरले सुरु गरेको ‘कक्षा कोठामा मेयर’ कार्यक्रम अन्तर्गत उनी बिहानै शारदा मा।वि। पुगेका थिए ।
कक्षाकोठामा विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताइ रहेका रहेका थिए ।
जीवनमा जस्तो सुकै परिस्थिति आए पनि हिम्मत कहिल्यै पनि हार्न हुँदैन भन्दै उनले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने काम गरिरहेका थिए ।
अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रुपमा अघि बढाउन विद्यार्थीहरुलाई उनले आग्रह गरे ।
मेयर सिंहले विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका बारेमा पनि जानकारी लिएका थिए । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरुमा उत्साह जागृत भएको मेयर सिंह बताउनुहुन्छ ।
विद्यार्थीहरुमा उत्प्रेरणा बढाउन मेयर सिंहले विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिने गरेका हुन् । यस अघि विद्यार्थीको हौसला बढाउन त्रिजुद्ध मा।वि।मा पुगेका थिए ।
मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै चाख बढेको हौसला मिलेको शारदा मा।वि।का प्रधानाध्यापक विनोद मेहता बताउँछन् ।
कक्षामा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो ।
मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्नुहुँदै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।