वीरगञ्ज । नेपाली कांग्रेस पर्साले आज यहाँ सडक प्रदर्शन गरेको छ । सहकारी ठगी र नागरिकता किर्ते प्रकरणमा सरकारले अनुसन्धानमा ढिलासुस्ती र लापरवाही गरेको भन्दै कांग्रेसले वीरगञ्जमा प्रदर्शन गरेको हो । वीरगञ्जको मुख्य शहर माईस्थानबाट सुरु भएको प्रदर्शन नगरको बिभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर टुंगिएको थियो ।
नेपाली कांग्रेस पर्साका सभापती एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले सहकारी ठगीमा संलग्न माथी संसदीय छानविन समिति गठन गरी अनुसन्धान गर्नुपर्ने, नेपाल विद्यार्थी संघका नेतामाथि भएको घटनामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन । प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललाई ज्ञापन पत्र बुझाएको छ । आजको प्रदर्शनमा नेपाली काँग्रेस पर्साका नेताहरु, बिभिन्न जनबर्गिय संगठनका प्रमुख तथा सदस्य र नेका समर्थितहरुको उल्लेख्य सहभागिता रहेको थियो ।