बिभिन्न मुद्दामा फरार रहेका पाँच जना प्रतिवादीहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बहुबिवाह मुद्दामा अदालतबाट एक वर्ष कैद सजाय पाएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टंगिया बस्ती बस्ने अन्दाजी ३५ वर्षकी भगवती माया रानालाई पक्राउ गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बहुबिवाह मुद्दामा अदालतबाट ११ महिना १२ दिन कैद र १० हजार रुपैयाँ जरिवाना पाएका सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ७६ वर्षीय उदयशंकर प्रसादलाई पनि पक्राउ गरेको जनाएको छ ।
यता ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा अदालतबाट २ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना पाएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ बस्ने अन्दाजी ३४ वर्षीय अजय भन्ने सिताराम कार्कीलाई पक्राउ गरेको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले चोरी अन्य मुद्दामा अदालतबाट १ महिना कैद र दुई लाख रुपैयाँ जरिवाना पाएका बारागढी गाँउपालिका वडा नम्बर १ बस्ने अन्दाजी ३८ वर्षीय राम प्रसाद चौधरीलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले करकाप मुद्दामा अदालतबाट ७ सय ५० रुपैयाँ जरिवाना पाएका परवानीपुर गाँउपालिका वडा नम्बर २ बस्ने अन्दाजी ४५ वर्षीय बासदेव राउत खुलवटलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।