Birgunj News24
सशस्त्र प्रहरीद्वारा १० लाख बढीको समान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट १० लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट भन्सार छलीका सामग्री बरामद गरेको हो ।

बेवारिसे अवस्थामा लुकाई राखेको ४ लाख ९७ हजार ४ सय रुपैयाँ बराबरको ४१३ किलोग्राम कवाडी तामाको तार र ग्यास रेगुलेटर बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । सूचना अधिकारी सिंहकाअनुसार बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

यस्तै सशस्त्र प्रहरीले वीरगञ्जबाट ३ लाख ५५ हजार ७४० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । भारतबाट भन्सार छलेर वीरगञ्जतर्फ ल्याउँदै गरेको अवसमा किराना सामान, कपडा तथा मोटरपार्टसका सामग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । उनकाअनुसार सामग्री ओसारपसारमा प्रयोग गरिएको बिआर ०५ ए ए ६८९७ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको छ । 
पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठाबाट पनि सशस्त्र प्रहरीले ५८ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा चिसो, चिनी तथा कपडा लगायतका सामग्री बरामद गरिएको सिंहले जानकारी दिए । 
सबै ठाउँबाट बरामद गरिएको १० लाख ११ हजार ६४० रुपैयाँ बराबरको सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update