१६ जेठ, वीरगञ्ज । बाराका १५ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा धेरै देखिएको छ भने परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । १६ वटा पालिका रहेको बारामा सिम्रौनगढ नगरपालिका बाहेकको अन्य १५ पालिकाको कुल बेरुजु रकम ७३ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ । महालेखा प्रतिवेदनमा सिम्रौनगढ नगरपालिकाको विवरण उल्लेख गरिएको छैन ।
महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रतिवेदनले बाराका १५ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम धेरै रहेको देखाएको हो । प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा लेखापरिक्षण गरिएको २ अर्ब ७८ करोड ४९ लाख ६७ हजार रकम मध्य ५.२२ प्रतिशत बेरुजु रहेको देखिएको छ । प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरमा १४ करोड ५४ लाख १७ हजार रुपैयाँ बेरुजु रहेको देखिएको छ ।
बारामा सबैभन्दा कम बेरुजु रहेको पालिकामा परवानीपुर गाउँपालिका रहेको छ । १ अर्ब १५ करोड ४८ लाख ४४ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा ०.४५ प्रतिशत मात्र बेरुजु रहेको देखिएको छ । प्रतिवेदन अनुसार परवानीपुर गाउँपालिकामा ५१ लाख ५५ हजार बेरुजु रहेको छ ।
महालेखापरिक्षकको प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरपछि कोल्हवी नगरपालिकामा बेरुजु रकम बढी छ । कोल्हवी जिल्लाका पालिकाहरुमध्ये दोश्रो बढी बेरुजु रहेको पालिका बनेको छ । कोल्हवीमा १ अर्ब ६४ करोड ६८ लाख ८१ हजार रुपैयाँको लेखा परिक्षण भएकोमा ६.९५ प्रतिशत बेरुजु देखिएको छ । कोल्हवी नगरपालिकामा ११ करोड ४४ लाख ३७ हजार रुपैयाँ बेरुजु रहेको छ ।
तेश्रो बढी बेरुजु रहेको पालिकामा कलैया उपमहानगरपालिका रहेको छ । ३ अर्ब ४९ करोड आठ लाख ९५ हजार रुपैयाँको लेखा परिक्षण भएकोमा २.९९ प्रतिशत अर्थात १० करोड ४४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
निजगढ नगरपालिकाको बेरुजु ९ करोड ४२ लाख ८४ हजार, करैयामाई गाउँपालिकाको बेरुजु ५ करोड तीन लाख ४१ हजार, पचरौता नगरपालिकाको ४ करोड ९४ लाख ९९ हजार, आदर्श कोटवाल गाउँपालिकाको ४ करोड ३५ लाख ६३ हजार, फेटा गाउँपालिकाको ४ करोड नौ लाख ४१ हजार, महागढीमाई नगरपालिकाको ३ करोड २५ लाख ४९ हजार, विश्रामपुर गाउँपालिकाको १ करोड ३९ लाख ४६ हजार, प्रसौनी गाउँपालिकाको १ करोड १९ लाख १४ हजार, सुवर्ण गाउँपालिकाको १ करोड एक लाख १२ हजार, बारागढी गाउँपालिकाको ९९ लाख ८७ हजार, देवताल गाउँपालिकाको ८१ लाख ५६ हजार र परवानीपुर गाउँपालिकाको ५१ लख ५५ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको ६१ औं वार्षिक प्रतिवेदनले देखाएको छ ।
लेखापरिक्षण गरिएको रकमको प्रतिशतमा हेर्ने हो भने निजगढ नगरपालिकाको बेरुजु प्रतिशत सबै भन्दा बढी छ । निजगढ नगरपालिकाको बेरुजु दर ७.४६ प्रतिशत रहेको देखिन्छ । दोश्रोमा कोल्हवी नगरपालिकाको ६.९५ प्रतिशत, तेश्रोमा जीतपुरसिमरा उपमहानगरपालिकाको ५.२२ प्रतिशत, चौथोमा करैयामाई गाउँपालिकाको ४.६३ प्रतिशत, पाँचौमा फेटा गाउँपालिकाको ४.२५ प्रतिशत, यस्तै आदर्श कोटवाल गाउँपालिकाको ३.९७ प्रतिशत, पचरौता नगरपालिकाको ३.८२ प्रतिशत, कलैया उपमहानगरपालिकाको २.९९ प्रतिशत, महागढीमाई नगरपालिकाको १.८७ प्रतिशत, विश्रामपुर गाउँपालिकाको १.६१ प्रतिशत, प्रसौनी गाउँपालिकाको १.३२ प्रतिशत, बारागढी गाउँपालिकाको १.०३ प्रतिशत, देवताल गाउँपालिकाको ०.९३ प्रतिशत, सुवर्ण गाउँपालिकाको ०.७९ प्रतिशत र अन्तिममा रहेको परवानीपुर गाउँपालिकाको ०.४५ प्रतिशत बेरुजु देखिएको छ ।