वीरगञ्जको नारायणी अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट मे.सु. परिवर्तन भएसँगै ४७ जना कर्मचारीलाई हटाइएको छ जस मध्य दरबन्दी बेगर कार्यरत १० जना डाक्टरहरुको जागीर ‘चट’ भएको छ ।सोमबार अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकको अध्यक्षतामा बसेको बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरत १० जना डाक्टरहरु लाई हटाउने निर्णय गरेको अस्पतालका सूचना अधिकारी सुनिल रौनियारले जानकारी दिए । उनका अनुसार, अस्पतालबाट हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक १० जना, सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब चार जना, कार्यालय सहयोगी ७ जना लगायतका रहेका छन् । अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा अस्पतालमा दरबन्दी बेगर नियुक्त भई दैनिक ज्यालादारीमा कामकाज गरिरहेका ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीको यहि जेष्ठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निर्णय गरिएको उल्लेख छ । अस्पतालका निमित्त मेसु डाक्टर हकले दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरतहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकाले उनिहरुलाई सेवाबाट हटाइएको बताए । उनले भने, ‘एक त दरबन्दी बेगर उनिहरु कार्यरत थिए । अर्को कूरा यति धेरै कर्मचारी अस्पताललाई आवश्यक पनि थिएन । उनिहरुलाई ६र७ महिनादेखि तलब भत्ता पनि अस्पतालले खुवाउन सकिरहेको थिएन । यीसबै कारणले उनिहरुलाई सेवाबाट हटाउनु परेको हो ।’ अस्पताल श्रोतका अनुसार,यसअघिका निमित्त मे.सु.डाक्टर चित्तरन्जन साहको कार्यकालमा दरबन्दी बेगर दैनिक ज्यालादारीमा करिब १५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा नियुक्त गरिएको थियो ।