वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ पानीटंकीस्थित एक मोटरसाइकलको पाटपुर्जा राखिएको गोदाममा प्रहरीले छापामारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम शाखाका इन्चार्ज प्रहरी निरिक्षक दावा तेन्जीङ शेर्पा नेतृत्वको सिबिल ड्रेसको प्रहरी टोलीले पानीटंकीस्थित मुकेश रौनियारको घरमा भाडा लिएर भारतिय नागरिक अजय गुप्ताले संचालन गरेको गोदाममा छापामारी गरेको हो ।
विशेष सुचनाको आधारमा सोमबार दिउसो पुगेको शेर्पा नेतृत्वको प्रहरी टोलीले उक्त गोदामबाट १० लाख रुपैया बराबरको भन्सार छलिको मोटरसाइकलको विभिन्न पार्टपुर्जाहरु बरामद भएको प्रहरीले जनाएको छ ।
पानीटंकीस्थित नै रहेको एक मोटरसाइकल पाटपुर्जा बिक्री गर्ने पसलको गोदाम रहेको छ । तर उक्त पसलको नाम खुल्न नसकेको प्रहरीको भनाई छ । गोदामका संचालक र पसलको बारेमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शेर्पाले वताए ।
प्रहरी गोदाममा पुगेपछि गोदाम संचालक सम्पर्क विहिन भएका थिए । प्रहरीका अनुसार आफुहरु गोदाममा पुग्दा मोटरसाइकको पाटपुर्जा राखिएको कोठा खुल्ला थियो । तर मान्छे कोही थिएन । खोजतलाश गर्दा पनि कोही सम्पर्कमा आएनन् ।