Birgunj News24
वीरगंज उद्योग वाणिज्य संघ र मोतिहारी चेम्बर अफ कमर्श बीच व्यापार विस्तार तथा पर्यटन विकासका लागि छलफल

वीरगंज उद्योग वाणिज्य संघ र भारतको पूर्वी चम्पारणमा अवस्थित मोतिहारी चेम्बर अफ कमर्श बीच द्विपक्षीय व्यापार सम्बन्ध विस्तार तथा पर्यटन विकासका लागि छलफल भएको छ । मोतिहारीमा आयोजित मोतिहारी चेम्बर अफ कमर्शको अद्र्धवार्षिक कार्यक्रममा उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्रहरुको खस्किँदो अवस्थालाई दृष्टिगत गरेर नेपाल भारतका सिमाञ्चल क्षेत्रमा रहेको औद्योगिक एवम् व्यापारिक सम्बन्ध विस्तार सम्बन्धमा छलफल भएको हो ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले वीरगंजको बढ्दो महत्व, यसले बोकेको सम्भावना र मुलुककै आर्थिक उन्नयनमा खेलेको भूमिका उजागर गर्दै यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा औद्योगिक लगानी गर्न चाहनेहरुको लागि वीरगञ्ज अत्यन्तै उपयुक्त ठाउँ रहेकोले लगानी गर्न आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले नेपालको भौगोलिक विविधताका कारण विश्वका जुनसुकै मुलुकबाट आउने पर्यटकले रोजे अनुसारको हावापानी पाउने भएकोले जोसुकैको लागि नेपाल आकर्षणको केन्द्र बनेको बताउँदै पर्यटकको रुपमा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्न आग्रह गर्नुभयो ।

मोतिहारी चेम्बर अफ कमर्शका अध्यक्ष राजीव विजडमले वीरगंज नेपालको प्रमुख औद्योगिक क्षेत्र रहेको र कुल राजस्वको करिब ५० प्रतिशतभन्दा बढी योगदान रहेको र औद्योगिक लगानीको लागि पर्याप्त सम्भावना रहेकोले इच्छुकहरुलाई वीरगंज क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । साथै वीरगंज औद्योगिक विकासमा धेरै नै अगाडि बढिसकेकोले त्यहाँका उद्योगहरुले अपनाई रहेका प्रविधिहरु भित्रयाउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा दुवै चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी व्यवसायीहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update