नक्कली ड्राइभिंग लाइसेन्स जारी गर्ने कार्यमा संलग्न रहेका पाँच जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीप कुमार साह, यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्प्युटर अधिकृत पदम राज आचार्य, बुटवलमा कार्यरत तत्कालीन शाखा अधिकृत सुवास पौडेल, र चितवनमा कार्यरत सहायक कम्प्युटर अपरेटर राजेश लम्साल रहेका छन्।
सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार दिलीप कुमार साहले सिस्टममा छिरेर गडबडी गरेको आरोप छ। साह पक्राउ परेसँगै जनकपुरधामबाट पनि भारी संख्यामा फर्जी लाइसेन्स वितरण भएको अनुमान गरिएको छ।
एसपी बोगटीले जनाए अनुसार यातायात व्यवस्था कार्यालयहरुले पेपरकार्ड विधिमार्फत सवारीचालक अनुमतिपत्र वितरण गर्दा कर्मचारीहरु मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरु इन्ट्री गर्ने गरेको पाइएको छ। ईडीएल प्रणालीमा स्थानान्तरण हुन बाँकी पेपरकार्ड सवारीचालक अनुमतिपत्रहरु इन्ट्री गरी वितरण गर्दा फर्जी विवरणको आधारमा गैरकानूनी तवरले अनुमतिपत्र जारी भएको पुष्टि भएको हो।
पक्राउ परेका कर्मचारीहरुलाई काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ। यसअघि सर्वोच्च अदालतले नक्कली सवारी चालक अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका १६ जनालाई सफाइ दिएको थियो।
यो कार्यले यातायात व्यवस्था कार्यालयहरुमा भएको भ्रष्टाचारको अवस्था उजागर भएको छ र सम्बन्धित निकायहरुले यसप्रति गम्भीर ध्यान दिनु पर्ने आवश्यकता देखिएको छ।