पर्साको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा यही असार २३ गते निकालिने भएको छ। वीरगञ्ज महानगरको ऐतिहासिक धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको रथयात्रालाई यसवर्ष थप भव्य बनाउने तयारी भइरहेको समितिका अध्यक्ष श्याम पोखरेलले बताए। गत वर्षदेखि सुरु भएको रथयात्रालाई निरन्तरता दिँदै यसवर्ष थप व्यवस्थित र आकर्षक बनाइने छ।
रथयात्राका लागि समितिले रथभित्रको मण्डपलाई चाँदीको बनाउने र काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गर्ने काम गरिरहेको छ। समितिका अनुसार, काठमाडौंका विशेष कारिगरसँग मण्डपलाई चाँदीको पत्र जडान गर्ने काम एक महिना अघिदेखि नै सुरु भइसकेको छ। रथको मण्डपलाई चाँदीको पत्रले ढाक्न १५ किलो चाँदीको खपत हुने अपेक्षा गरिएको छ। स्थानीय दाताहरूले यस कार्यमा सहयोग गरिरहेको रथ समितिका उपाध्यक्ष देवानन्द कलवारले जानकारी दिए।
गत वर्ष रथ निर्माणमा करिब २० लाख रुपैयाँ खर्च भएको थियो, जसमा वीरगञ्ज महानगरपालिकाले ३ लाख रुपैयाँ, माईस्थान मन्दिर सञ्चालक समितिले साढे ३ लाख रुपैयाँ र बाँकी रकम स्थानीय दाताहरूले सहयोग गरेका थिए। यसवर्षको खर्च रथयात्रा सम्पन्न भएपछि मात्र बताउन सकिने रथ यात्रा निर्माण समितिका महासचिव पप्पु गुप्ताले बताए।