Birgunj News24
हावाहुरीबाट चितवनमा १२ करोड बराबरको केराखेती नष्ट

हावाहुरीबाट चितवनमा गरिएको केराखेतीमा ठूलो क्षति पुगेको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केराखेतीमा क्षति पुगेको बताए।

“पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका लगाइएको ४० लाख ८७ हजार ५०० केराका बोटमा क्षति पुगेको छ,” उनले भने। उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो।

संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण १२ करोड रुपैयाँ बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। ७० जना व्यावसायिक किसानले लगाएको केरामा पूर्ण रूपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए। 

उनले ९० प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको जानकारी दिए। जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ। उनका अनुसार चितवनमा सात सय किसानले केराखेती गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update