Birgunj News24
ईनर्वाबाट पाँच किलो गाँजासहित दुई युवक  पक्राउ

वीरगञ्जबाट प्रतिबन्धित  लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ् टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

भारतको रक्सौलतर्फ जाने यात्रुवाहक अटोमा सवार दुई जनालाई शंकास्पद अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार खानतलासी गर्ने क्रममा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय ईमताज आलमले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा पाँच किलो ७२० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।
ईमताजसँगै सवार भारत पुर्वी चम्पारणको मोतिहारी थाना भेलाही मुसहरवा २ बस्ने २२ वर्षीय नवरेज आलमलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । दुवै जनालाई जिल्ल प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update