Birgunj News24
मधेश सरकारलाई निरन्तरता दिए मात्र कांग्रेस एमाले गठबन्धनलाई समर्थन गर्ने जनमत पार्टीको शर्त

संघीय सत्ता गठबन्धनमा भारी फेरबदल भएको बखत जनमत पार्टीले मधेश प्रदेशमा सरकारको नेतृत्वलाई निरन्तरता दिए मात्र कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने शर्त अघि सारेको छ। जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा। शरद सिंह यादवले मधेश प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा सहभागी हुने बताएको छ।

गत जेठ २५ गते मधेश प्रदेशमा एमाले, माओवादी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सभासद सतीशकुमार सिंहको नेतृत्वमा सरकार गठन भएको थियो। सरकारले आउँदो २२ गते शनिबार विश्वासको मत लिने अन्तिम दिन हो। मुख्यमन्त्री सिंहलाई विश्वासको मत लिन सो दिन बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

सरकार गठन हुँदा मुख्यमन्त्री सिंहले ५४ जना सभासदको हस्ताक्षर पेश गरेका थिए। प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पास भए पनि बजेट माथिको छलफल सुरु हुन सकेको छैन। मुख्यमन्त्री सिंहले बजेटमा व्यापक त्रुटि रहेकोले पुनर्लेखन गरिने सार्वजनिक रुपमा नै बताएका छन्। विपक्षी दलहरुले बजेट पुनर्लेखन गर्दा समानुपातिक हुनुपर्नेमा जोड दिएका छन्। सरकारको विपक्षमा ५० जना सभासद रहेका छन्।

कांग्रेस–एमाले गठबन्धनसित प्रचण्ड बहुमत रहेको र लोसपा, राप्रपा, जसपा नेपालले समर्थन गर्ने जनाइसकेका छन्। मधेश प्रदेशमा पनि दुई दलको गठबन्धनसित ४६ सभासद रहेका छन्। लोसपा, जसपा नेपाल, जनमत मध्ये कुनै एउटाले मात्रै समर्थन गरे बहुमत पुग्ने अवस्था छ। मधेश सरकारमा सहभागी एमालेका एकजना नेताले जनाए अनुसार जनमतको सरकारले विश्वासको मत पाउनेमा शंका छ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update