Birgunj News24
बर्षाका कारण काठमाडौं प्रवेश गर्ने तिनवटा सडक बन्द

हेटौंडाबाट राजधानी काठमाडौं प्रवेश गर्ने छोटो दुरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

यस्तै हेटौंडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ । महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

यसैगरी हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी(दक्षिणकाली सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी(दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।

वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर(२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाइ छ।

बाटो सञ्चालन गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्रसरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update