सप्तकोशी नदिमा पानीको बहाब निरन्तर बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएका छन ।
आज बिहानदेखि सप्तकोशीमा पानीको बहाब निरन्तर बढन थालेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिनुभयो ।
पुर्वी पहाडी जिल्लाहरुमा लगातार परेको बर्षाका कारण सप्तकोशी नदिमा पानीको बहाव शनिबारदेखि बढेको हो । आइतबार १०।३० बजेसम्म सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ७० हजार १५० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । सप्तकोशी नदिमा प्रति सेकेन्ड एकलाख ५० हजार क्युसेक पानीको बहाब पुगेपछि खतरा मानिन्छ ।
कोशी ब्यारेजका सबै ढोका खोलिएपछि कोशी आसपासका क्षेत्रमा खतरा टरेको पनि एसपी रेग्मीले बताउनुभयो । उहाँले सप्तकोशीमा पानीको बहाब बढेकाले कोशीमा दाउरा खोज्न, माछा मार्न र डुङ्गा चलाउन भने रोक लगाएको बताउनुभयो ।
सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सप्तकोशी आसपासका क्षेत्रमा परिचालन गरि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
भारतको नियन्त्रणमा रहेको सप्तकोशीमा पानीको बहाब निरन्तर बढेपछि सुनसरी प्रहरीको आग्रहमा भारतीय पक्षले ब्यारेजका सबै ढोका खोलेको हो ।