नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बसबाट अहिलेसम्म ६ जनाको शब फेला परेको छ । अन्य यात्रुहरूको अवस्था भने अज्ञात नै छ ।
शव भेटिएकामध्ये तीन जनाको सनाखत भएको छ भने अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत भएकामध्ये एकजना भारतीय र दुई जना नेपाली नागरिक रहेको पुष्टि भएको छ ।
सुरुमा शनिवार नारायणी नदीको गोलाघाटमा एकजना भारतीय यात्रुको शव फेला परेको थियो । उक्त स्थान दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल अवस्थित छ ।
गोलाघाटमा राप्ती र नारायणी नदी मिसिने ठाउँ नजिकै ती शव फेला परेको र परिवारजनले शवको सनाखत गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
त्यसबाहेक सर्लाही बरहथवाका अर्का यात्रुको शव नवलपरासी पूर्वको गैँडाकोट–७ मा पर्ने नदी छेउमा फेला परेको यादवले जानकारी दिएका छन् । सोही स्थानमा फेला परेको अर्को एउटा शव चितवनको माडी नगरपालिकाका एकजना युवकको रहेको पुष्टि भएको छ ।
हालसम्म अन्य थप तीन वटा शव पनि भेटिएको तर ती शवहरूको पहिचान खुल्न बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।
त्रिशूली नदीको बाढीले बगाएर तल्लो तटीय क्षेत्रतर्फ लगेको हुन सक्ने भएकाले अधिकारीहरूले आइतवारदेखि त्यस क्षेत्रमा पनि खोजी कार्य तीव्र पारेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी यादवले खोजी कार्यमा ड्रोनको पनि प्रयोग गरिएको जानकारी दिए ।