काठमाडौं, साउन १ । वाणिज्य बैंकहरूले नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाका लागि मुद्दती ब्याजदर सार्वजनिक गरेका छन । वाणिज्य बैंकहरूले आजदेखि लागू हुने गरी साउन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका हुन ।
सार्वजनिक तथ्यांकअनुसार वाणिज्य बैंकहरुले असारमा औसत ६.८८ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर साउनमा ०.१४ प्रतिशतले घटाएर ६.७४ प्रतिशतमा झारेका छन् । हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतसम्म परिवर्तन गर्न पाउने व्यवस्था अनुसार बैंकहरूले ब्याजदर समायोजन गरेका हुन ।
२० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले साउन महिनाका लागि ब्याजदर घटाएका छन भने दुई बैंकले बढाएका छन । त्यस्तै, ५ बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन । मुद्दती निक्षेपको ब्याजदर कृषि विकास बैंक र एभरेष्ट बैंकले मात्रै बढाएका छन । त्यस्तै, असार महिनाकै ब्याजदरलाई निरन्तरता दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंक रहेका छन् ।
साउन महिनाका लागि मुद्दतीमा कृषि विकास बैंकले ६.२९, एभरेस्ट बैंकले ६.३, राष्ट्रिय वाणिज्य बैंकले ६.२१, नेपाल एसबीआई बैंकले ६.३ प्रतिशत ब्याजदर कायम गरेका छन । त्यस्तै, लक्ष्मी सनराइज बैंकले ६.५, ग्लोबल आईएमई बैंकले ६.२५, कुमारी बैंकले ६.७१, प्राइम कर्मसियल बैंकले ६.५, नेपाल बैंकले ६.२५, सानिमा बैंकले ६.४ प्रतिशत ब्याजदर साउन महिनाका लागि तोकेका छन ।
त्यसैगरी एनईमबी बैंकले ७.५३, एनआईसी एसिया बैंकले ७.५३, हिमालयन बैंकले ७.५ प्रतिशत, सिटिजन्सले ६.७५ प्रतिशत, नबिल बैंकले ७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ७, सिद्धार्थ बैंकले ६.७५, स्टान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, प्रभु बैंकले ७ प्रतिशत ब्याजदर कायम गरेका छन ।