Birgunj News24
मौद्रिक नीति विरुद्ध निरन्तर आन्दोलनमा उद्योगी व्यवसायी 

वीरगञ्ज, ११ पुष ।  नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सच्याउन माग गर्दै आन्दोलित उद्योगी व्यवसायीहरुले आज पसल तथा व्यवसायिक प्रतिष्ठानमा ब्यानर लगाएका छन् । चालु पूँजी कर्जा मार्गदर्शनको विरोधमा सोमबारदेखि आन्दोलनमा उत्रिएका वीरगञ्जका उद्योगी व्यवसायीहरुले दबाबस्वरुप आज पसल तथा व्यवसायिक स्थानमा ‘हामी आन्दोलनमा छौँ’ लेखिएको ब्यानर लगाएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघसहित १६ वटा उद्योग वाणिज्य संघ र १० वटा वस्तुगत संघ संस्थाहरुको समर्थनमा आन्दोलित व्यवसायीहरुले वीरगञ्ज नगर परिक्रमा पनि गरेका छन् । ‘हामी आन्दोलनमा छौँ’ लेखिएको ब्यानरसहित वीरगञ्जमा प्रदर्शन गर्दै उनीहरुले नेपाल राष्ट्र बैंकको विरुद्धमा नाराबाजी पनि गरेका छन् । 

बैंकको ब्याजदर चर्को भएको र नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शन खारेजी नभएसम्म आन्दोलनलाई निरन्तरता दिने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए । बैंकहरुको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जा निर्देशिका २०७९ का कारण आर्थिक संकट बढेको बताउँदै अध्यक्ष गुप्ताले उद्योगी व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएको बताए ।

८ प्रतिशतमा लिएको ऋणको ब्याजदर १५ प्रतिशत पुगेर धेरै जनाको सम्पत्ति लिलामीको प्रक्रियामा जान लागेको र उद्योग व्यवसाय धरासायी बन्दै गएको गुप्ताको भनाई छ । 

वीरगञ्ज उद्योग वाणिज्य संघले नेतृत्व गरेको आन्दोलनमा मधेश प्रदेश भरीका उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च, होटल तथा पयर्टन व्यवसायी संघ वीरगञ्ज लगायत २६ वटा संघ संस्थाले समर्थन जनाएका छन् ।

वीरगञ्जको आदर्शनगर, माइस्थान लगायत बजार क्षेत्रका पसलमा झण्डा र कालो पट्टी वितरण गर्दै विरोधपूर्ण ब्यानर लगाइएको छ । बुधबार नेपाल राष्ट्र बैंक अगाडि १ घण्टा धर्ना दिने र बिहीबार विशाल विरोध जुलुश निकाली नगर परिक्रमा गर्ने आन्दोलनका कार्यक्रम तय भएको संघका अध्यक्ष डा. गुप्ताले जानकारी दिए । 

यसअघि सोमवार उनीहरुले उद्योग वाणिज्य संघ र नेपाल राष्ट्र बैंकको अगाडि कालो ब्यानर समेत टाँगेर आन्दोलनको शुरुवात गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update