एन्सेल र नविल बैंकबीच डिजिटल कारोबार सम्झौता
डिजिटल कारोबार सेवा प्रदान गर्न नबिल बैंक र मोबाइल सेवाप्रदायक एनसेलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सी.ई.ओ. ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनसेलका सी.ई.ओ. जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब एनसेलका सबै प्रकारका ग्राहकले सिम र डेटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने छन् । यसका साथै नबिल बैंकको मोबाइल बैंकिङ एप एनबैंक मार्फत पनि एनसेलका सेवा खरिद गर्न सकिने छ ।
एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एनबैंक गरी तीन ओटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।
यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउने र ग्राहकले विशेष लाभ पाउने नबिल बैंकका सीईओ ढुंगानाले बताए । त्यस्तै एनसेलका सीईओ कायुमोभनले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने भनाइ राखे ।