Birgunj News24
महिला एसिया कपको उपाधि श्रीलंकालाई 

साउन १३, २०८१
भारतलाई पराजित गर्दै श्रीलंकाले महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनल खेलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कपको उपाधि उचालेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् ।

कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् ।

रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।

श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।

भारतले एसिया कपको उपाधि सात पटक जितेको छ ।

महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसंग पराजित भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update