Birgunj News24
बंगलादेशमा अन्तिरम सरकार बनाउने  सेनाको तयारी 

काठमाडौँ – बंगलादेशका सेना प्रमुख वकार–उज–जमानले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्।

विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत भागेपछि सेना प्रमुख जमानले राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्। उनले अहिले राष्ट्रलाई सम्बोधन गरिरहेका छन्।

जमानले अन्तिरम सरकार गठन हुने बताउँदै सेनामाथि विश्वास गर्न आग्रह गरेका छन्। सम्बोधनका क्रममा उनले प्रदर्शनका क्रममा भएका सबै हत्याका घटनाहरूको छानिबन हुने बताए।

सेना प्रमुख जमानले सबै वपक्षी दलका नेताहरूसँग छलफल गरेको बताउँदै चाँडै अन्तिरम सरकार बन्ने जिकिर गरे।

सरकारी सेवामा आरक्षणको विरोधमा विद्यार्थीहरूको प्रदर्शन हिंसक भएपछि प्रधानमन्त्री हसिना बहिनी शेख रेहानाका साथ हेलिकप्टरबाट देश छोडेर भारतको पश्चिम बंगालस्थित अगरतला भागेकी छिन्।

बंगलादेशमा चलिरहेको आरक्षणविरोधी आन्दोलन सोमबार थप उग्र भएको छ। विद्यार्थीहरूले सोमबार ‘ढाका मार्च अभियान ’ आह्वान गरेका छन्। यो आह्वानपछि बंगलादेशका विभिन्न स्थानबाट हजारौंको संख्यामा सर्वसाधारण ढाका पुगेका छन्।

प्रदर्शनकारीहरू राजधानी ढाकास्थित प्रधानमन्त्री हसिनाको सरकारी निवासभित्र प्रवेश गरेका छन्।

बंगलादेशमा गत जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा भारी हिंसाका साथै आगलागीका घटनाहरू भएका छन्। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

सरकारी सेवामा आरक्षण लागू गर्ने सरकारको निर्णयविरूद्ध बंगलादेशका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। सरकारले आरक्षणमा केही कटौती गरे पनि आन्दोलनरत विद्यार्थीहरू पछिल्लो समय प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका थिए।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update