Birgunj News24
नेपाल औषधि व्यवसायी संघ पर्साको नयाँ नेतृत्व  चयनको प्रक्रिया विवादमा

नेपाल औषधि व्यवसायी संघ पर्साको नयाँ नेतृत्व चयनको प्रक्रिया विवादमा परेको छ। संघको एक समूहले नेतृत्व चयनमा पारदर्शिता नपुगेको भन्दै विरोध गरेको हो।

गत असार ८ गते वीरगञ्जस्थित नगर सभा गृहमा संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको थियो। अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि दुई प्यानलले उम्मेदवारी दर्ता गरेका थिए। तर, सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।

निर्वाचनको लागि मानव राज पाल, ताजुदिन अन्सारी, अजय कुमार यादव लगायतका व्यक्तिहरूले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका थिए। मानव राज पालको उम्मेदवारी खारेज भएपछि, ताजुदिन अन्सारी र अजय कुमार यादव मात्र अध्यक्ष पदका लागि उम्मेदवार रहँदै आएका थिए।
अन्य पदहरूको लागि पनि विभिन्न उम्मेदवारहरू मैदानमा थिए। पंकज कुमार साह वानिया र प्रमोद कुमार सर्राफ बरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धामा थिए भने, महमद हफिज्जुल्लाह र रामविनोद प्रसाद महासचिवका लागि प्रतिस्पर्धामा थिए।
तर, हालै आएर निर्वतमान अध्यक्ष ताजुदिन अन्सारीको नेतृत्वमा नयाँ समिति चयन भएको घोषणा गरिएपछि, यस विषयमा एक पक्षले आपत्ति जनाउँदै विरोधमा उत्रेको छ। विरोध समूहका सह(कोषाध्यक्षका उम्मेदवार पन्नालाल प्रसाद कुर्मीका अनुसार निर्वाचन प्रक्रिया नै रद्द भइसकेको अवस्थामा विधानविपरीत प्रमाण पत्र वितरण गर्न लागिएको छ।

विरोध गर्ने समूहले, उम्मेदवारका रूपमा नाम नदिएका व्यक्तिहरूलाई समेत सदस्य निर्वाचितको प्रमाण पत्र वितरण गर्ने तयारी गरिएको आरोप लगाएको छ।
यस विषयमा बुझ्नका लागि निर्वतमान अध्यक्ष ताजुदिन अन्सारीसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो, तर उनीसँग सम्पर्क हुन सकेन।

मुख्य निर्वाचन अधिकृत प्रज्वल अधिकारीले असार ८ गतेको निर्वाचन प्रक्रिया रद्द भए पनि प्रदेश समितिको निर्देशन अनुसार साउन १९ गते निर्विरोध रूपमा नयाँ समिति चयन भएको जानकारी दिए। तर, विरोध गर्ने समूहले यसबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update