शुक्रबार बिहान अविरल वर्षाले बारा जिल्लामा बाढीको समस्या उत्पन्न गरेको छ, जसका कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियाका स्थानीय बासिन्दाहरू बाढीबाट प्रभावित भएका छन्। उक्त समस्या समाधानका लागि उपमहानगरपालिकाले राहत सामाग्री वितरण गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले बाढी पिडितलाई खाद्यान्न सामाग्री वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार, पहिलो चरणमा बकुलियाका ७० जना बाढी पिडितलाई राहत सामग्री वितरण गरिएको वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिनुभयो।
वडाध्यक्ष चौधरीका अनुसार, उपमहानगरपालिकाले तत्कालको लागि बाढी पिडितलाई २० केजी चामल, २।५ केजी आलु, १ लिटर खाने तेल, १ किलो दाल, १ किलो नुन, २ केजी भुजा, १ प्याकेट मसला, १२ पिस चाउचाउ, १ प्याकेट दालमोट र १२ पिस बिस्कुट वितरण गरिएको छ।
वडा सदस्य इन्दल पासवानले भने, ‘उपमहानगरको अनुगमन टोलीले बाढी पिडितको तथ्यांक संकलन गरेर पहिलो चरणमा ७० जनालाई राहत वितरण गरेको छ। अब दोस्रो चरणमा राहत नपाएका व्यक्तिहरूको नाम संकलन गरेर पुनः राहत वितरण गरिने छ।’
राहत वितरणमा जीतपुरसिमरा नगरप्रहरी र इलाका प्रहरी कार्यालय जीतपुरको रोहबरमा बाढी पिडितलाई राहत सामग्री वितरण गरिएको थियो। राहत प्राप्त गरेपछि स्थानीय बासिन्दाहरू खुशी भएका छन्।