विराटनगरको बाटो हुँदै भारत पुर्याउन खोजिएको लागुऔषध गाँजा प्रहरीले आइतबार बिहान बरामद गरेको छ । भारतीय नम्बर प्लेटका कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट ७२ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
रानीबाट भेडियारीतर्फ जाँदै गरेको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले बिहान २स्३० बजेतिर आईसीपी सडकखण्डबाट नियन्त्रणमा लिएको थियो ।
डिएसपी बस्नेतका अनुसार प्रहरीले रोक्नासाथ कार ‘लक’ गरेर चालक फरार भएका थिए । कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा लागऔषध गाँजा फेला परेको उनको भनाइ छ ।
कार रोकेको स्थाननजिकै रहेका अन्य ३ जना भारतीय नागरिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजकलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए ।
उनका अनुसार तीनै जना गाँजा ‘रिसिभ’ गर्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । ‘प्रहरीलाई देख्नासाथ कार रोकेर ‘लक’ गर्दै चालक फरार भए । कारमा लोड गरेर ल्याइएको गाँजा ‘रिसिभ’ गर्न ३ जना भारतीय बसिरहेको पाइयो,’ उनी भन्छन्, ‘उनीहरुलाई तत्काल पक्राउ गरिएको छ । कार चालकको खोजी भइरहेको छ ।’
तत्काल बरामद गर्न नसकेको भए गाँजा भारत कटाउने योजा रहेको प्रहरीको भनाइ छ । बस्नेतले नियन्त्रणमा लिइएको कारसहित बरामद भएको गाँजा र पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।