वीरगंज नारायणी अस्पताल नजिक रहेको गरिमा मेडिकल हलले म्याद गुज्रेको औषधि बिक्री बितरण गरिरहेको छ । भाद्र ९ गते आईतबार वीरगंज ११ श्रीपुर निवासी एक बिरामीले खरिद गरेको औषधिमा म्याद गुज्रेको औषधि बिक्री गरिएको भेटिएको हो । बिरामीले खरिद गरेको जिओर्थो नामक औषधिको म्याद एक महिना गुज्रिएको भेटिएको छ ।
स्वास्थ्य जस्तो संवेदशील बस्तुमा पनि औषधि पसलले लापरवाही गरेकोले त्यसलाई कारवाही गरिनुपर्ने बिरामीको कथन छ । बिरामीका आफन्तले आज कृष्णाजन्माष्टमीको सार्वजनिक बिदा भएकोले भोली मंगलबार औषधि व्यवस्था बिभाग वीरगंज शाखा ,जिल्ला प्रशासन कार्यालय लगायतको निकायमा उजुरी दिने जानकारी दिए ।
म्याद गुज्रेको औषधि बेच्नेलाई औषधि ऐन २०३५ ले मानवीय लापरबाही मानेको छ ।मुलुकी ऐन २०७४ले म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न निषेध गरेको छ । त्यसो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान छ।
म्याद नाघेको औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैदको सजाय हुने एनेमा व्यवस्थ छ । यता पसल संचालकले भुलवस म्याद गुज्रिएको औषधि दिइएको स्वीकार गरेका छन ।