Birgunj News24
जग्गा समस्या समाधानको लागि उपकुलपति शाक्य र नेता समानीले भेटे मन्त्रीहरुलाई 

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वीरगञ्जमा रहेको मधेस विश्वविद्यालयको जग्गा समस्या समाधान गर्नका लागि आगामी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउने आश्वासन दिएका छन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री सिंहलाई विश्वविद्यालयका लागि आवश्यक पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा रहेको ३५ बिघा जग्गाबारेमा जिल्लाबाट सिफारिश प्राप्त भएपछि उक्त आश्वासन दिएका हुन्।

मधेस विश्वविद्यालय निर्माणका लागि बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साहको मञ्जुरीमा प्रजिअ दिनेशसागर भुसालको अध्यक्षतामा भूमिसुधार तथा मालपोत र नापी कार्यालयका प्रमुखहरूको सदस्यतामा रहेको सिफारिश समितिले उक्त ३५ बिघा सार्वजनिक जग्गा विश्वविद्यालयको निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो। सिफारिशको पत्र मुख्यमन्त्री सिंहलाई बुझाइएको छ।

मधेस विश्वविद्यालय केही वर्षदेखि वीरगञ्जको वडा नम्बर १२ स्थित नेशनल ट्रेडिङमा अस्थायी रुपमा सञ्चालन भइरहेको छ। विश्वविद्यालयको आफ्नै जग्गा अभावमा उक्त स्थानमा सञ्चालन हुँदै आएको हो।

उक्त कार्यक्रममा मुख्यमन्त्री सिंहसहित अर्थमन्त्री सुनील यादव र शिक्षामन्त्री रीना तिवारीलाई मधेश विश्व बिद्यालयका उपकुलपति प्रा।डा। दीपक शाक्य र नेता नेजामुद्दीन समानीले भेटेर विश्वविद्यालय निर्माण तथा पोखरिया अस्पतालको भौतिक निर्माणलगायतका विभिन्न अधूरा आयोजनाहरू पूरा गराउन ध्यानाकर्षण गराएका थिए।

सम्बन्धित मन्त्रीहरूले पोखरिया अस्पतालको स्तरोन्नतिका लागि यसअघि भएका निर्णयहरू कार्यान्वयनमा ल्याउने, भौतिक निर्माणका अधूरा कामहरू पूरा गराउन बजेट विनियोजन गरी पठाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update