जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाह निवासी गगन बहादुर आले मगरले आफ्नो स्वर्गीय पत्नी टङ्कमायाको १३ औँ पुण्य तिथिको अवसरमा स्थानीय विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेका छन् । उनले करिब २४ हजार रुपैयाँ बराबरका कापी, कलम, र पेन्सिल गरी १५ सय थान शैक्षिक सामग्री तीन वटा विद्यालयलाई प्रदान गरेका हुन् ।
शैक्षिक सामग्री प्राप्त गर्ने विद्यालयहरूमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, बालबालिका आधारभूत विद्यालय लामिडाँडा, र वडा नम्बर १६ डकाहमा रहेको मौवादेवी माध्यमिक विद्यालय रहेका छन् ।
मगरकी पत्नी टङ्कमायाको निधन यही भाद्र २ गतेका दिन ७२ वर्षको उमेरमा घाँटी सम्बन्धी समस्याका कारण आफ्नै निवास डकाहमा भएको थियो । टङ्कमाया समाजसेवी आलेकी जेठी श्रीमती थिइन् ।
यसअघि पनि आलेले विभिन्न संस्थामार्फत यी विद्यालयका बालबालिकाहरूका लागि पोसाक, जुत्ता, र शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । बडहर्वास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक राजेश्वर यादवले यसबारे जानकारी दिएका हुन् ।
बालबालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जीवन खतिवडाका अनुसार, आलेद्वारा प्रदान गरिएका शैक्षिक सामग्री आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूका लागि वरदान साबित भएका छन् । विद्यालयले यी सामग्रीहरू आवश्यकताअनुसार बालबालिकालाई वितरण गर्दै जाने जनाएको छ ।