रोल्पामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिकाका २९ वर्षीय युवक आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
शुक्रबार मध्यरात ५६ वर्षीया आफ्नै आमालाई जबरजस्तीकरणी गरेको जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए।
मदिराले मातेका छोराले आफूमाथि बलात्कार गरेको घटना आमाले छोरीलाई भनेपछि घटना सार्वजनिक भएको हो।
आमालाई मदिराले मातेको दाजुले मध्य रातमा बलात्कार गरेको घटनाका बारेमा छोरीले प्रहरीमा उजुरी गरेकी थिइन्।
‘आफ्नै घरमा सुतिरहेकी आमालाई मदिराले मातेका छोराले मुख छोपेर बोल्न र कराउनसमेत नदिइ जबरजस्ती बलात्कार गरेको भन्ने जाहेरीमा छ,’ प्रहरी निरीक्षक बराकोटीले भने।
पक्राउ परेका युवकले घटनाबारे आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन्।
प्रहरीका अनसार ती युवकले दुइटी श्रीमती विवाह गरेका थिए। यद्यपि अहिले कुनैपनि श्रीमती उनको साथमा छैनन्। उनका बाबु पनि बितिसकेका छन्।
पक्राउ परेका युवकबिरुद्ध हाडनाता करणी अन्तर्गतको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।