वीरगञ्जको नारायणी अस्पतालले क्यान्सरको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ । यही भदौ २५ गतेदेखि क्यान्सरको उपचार सेवा सुचारु गर्ने तिव्र रुपमा तयारी भइरहेको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। एनामुल हकले जानकारी दिए ।
स्वास्थय मन्त्री प्रदीप पौडेलको निर्देशनअनुसार मेसु डा। हकले वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर सेवा बिस्तार गर्ने तयारी थालेका हुन् । मन्त्री पौडेलले क्यान्सर उपचार सेवा विस्तार सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरेसँगै वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सरको उपचार सूचारु गर्ने बाटो खुलेको हो ।
मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले सात वटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य राखेको थियो । मन्त्री पौडेलको निर्देशनमा वीरगञ्जको नारायणी अस्पतालले क्यान्सरको उपचार सेवा थालनी गर्न लागेको मेसु डा। हकले बताए । उनकाअनुसार मधेश प्रदेशका बासिन्दालाई लक्षित गर्दै वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा सुरु गर्न लागेको हो ।
नारायणी अस्पतालमा क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा सुचारु गर्नका लागि आवश्यक स्वास्थ्य उपकरण जडानको काम भइरहेको छ । साथै दुई जना चिकित्सकलाई प्रशिक्षणका लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको पनि डा। हकले जानकारी दिए । यसअघि वीरगञ्जसहित पर्सा, बारा लगायतका क्यान्सरका बिरामी उपचारका लागि भरतपुर, काठमाण्डौ तथा भारत जानुपर्ने बाध्यता रहेको थियो ।अब वीरगञ्जकै सरकारी अस्पतालबाट केमोसहित क्यान्सरको परीक्षण र उपचार लगायतका विशेषज्ञ सेवा सुरु हुने मेसु हकले बताए ।
नारायणीसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कोशी प्रदेशको विराटनगर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरको विशेषज्ञ सेवा सुरु हुने भएको हो ।
स्वास्थ्य मन्त्री पौडेलले प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको हुँदा यसबाट देशैभर क्यान्सरको उपचारमा बिरामीको पहुँच बढेको मेसु हकले बताए । साथै आम नागरिकको क्यान्सर उपचार सेवा थप सहज हुने पनि उनको विश्वास छ । त्यस्तै संघीय अस्पताल मातहतका सरकारी अस्पतालबाट सेवा प्रवाह हुँदा समय र खर्च दुबै जोगिने पनि उनले बताए