हेटौंडामा २३ वर्षीया एलिसा न्यौपानेको हत्या काण्डमा संलग्न मुख्य आरोपित समीर खानलाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा भदौ ९ गते भएको घटनामा खानको संलग्नता रहेको पुष्टि भएको हो।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीका अनुसार, हेटौंडा–४, कमलडाँडाका बासिन्दा समीर खानलाई पक्राउ गरिएको हो। खानलाई भाग्न सहयोग गरेको आरोपमा यसअघि नै उनकी आमा सैरुन खान ५५ वर्ष, श्रीमती रविना खातुन २६ वर्ष, ससुरा लालबाबु खाँ पठान ५६ वर्ष, र उनका छोरा फैयाज अहमद ३० वर्ष समेतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
एलिसा न्यौपानेको शव भदौ १० गते रत्न होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा न्यौपानेको हत्या होटलभित्रै भएको पुष्टि भएको छ। प्रहरीका अनुसार, हत्या भएको दुई दिनपछि अर्थात् भदौ ११ गतेसम्म पनि खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरिरहेको पाइएको छ। एलिसाको परिवारले दिएको जानकारी अनुसार, समीरले उक्त कुराकानीमा अञ्जानमै हत्या हुन पुगेको स्वीकारेका थिए।
प्रहरीले खान र अन्य संलग्न व्यक्तिहरूको विषयमा थप अनुसन्धान गरिरहेको छ। अदालतले उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।